दफा २७
कैदको सजाय हुने अपराधहरू
:
(१) देहायका अपराध गर्ने सशस्त्र प्रहरीलाई जन्मकैदको सजाय हुनेछ :
(क) सशस्त्र विद्रोहमा सरीक भएमा,
(ख) नेपालको सार्वभौमसत्ता वा भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधिनतामा वा संघीय इकाइ वा विभिन्न जात, जाति, धमए सम्प्रदायबीचको सु–सम्वन्धमा खलल पर्न सक्ने गरी घृणा, द्वेष वा अवहेलना हुने गरी लेखेर, बोलेर वा संकेतद्वारा वा अरू कुनै किसिमबाट कुनै काम कुरा गरे गराएमा,
(ग) आफ्नो जिम्मामा रहेको सरकारी वा कसैको हातहतियार वा रखजाना बेच बिखन गरेमा वा कुनै प्रकारबाट अरू कसैलाई सुम्पिएमा,
(घ) आफ्नो प्रयोगको निमित्त लिई राखेको वा आफूले जिम्मा लिई राखेको हातहतियार खरखजाना लिई भागेमा,
(ङ) आतङ्ककारी गतिविधिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सघाएमा,
(च) सुरक्षासँग सम्बन्धित सूचना तथा खबरहरू राष्ट्रिय वा अन्तरराष्ट्रिय अनाधिकारिक व्यक्ति, संस्था वा समूहलाई उपलब्ध गराएमा वा उपलब्ध गराउन प्रयास गरेमा वा अन्य
कसैलाई त्यस्तो गर्न दुरुत्साहन गरेमा ।
(२) देहायका अपराध गर्ने सशस्त्र प्रहरीलाई सात वर्षदेखि बाह्र वर्षसम्म कैदको सजाय हुनेछ :—
(क) सशस्त्र विद्रोह गर्ने उद्योग गरेमा,
(ख) आफू खटिएको वा आफूले रक्षा गर्नु पर्ने सार्वजनिक महत्वको भवन, संरचना वा स्थल, कार्यालय वा अन्य कुनै स्थानमा हुलदङ्गा गरेमा वा आक्रमणकारीले आक्रमण गरेका बखत नामर्दिपन देखाई भागेमा,
(ग) लुट्ने अभिप्रायले कुनै घर वा कुनै ठाउँ भत्काए, फोरे वा कुनै किसिमले धनमाल लुटेमा वा हानी, नोक्सानी वा क्षति गरेमा ।
(३) देहायका अपराध गर्ने सशस्त्र प्रहरीलाई पाँच वर्षदेखि सात वर्षसम्म कैदको सजाय हुनेछ :
(क) ड्यूटीमा रहेको वा नरहेको भए पनि माथिको दर्जाको सशस्त्र प्रहरी वा सुरक्षासंग सम्बन्धित अधिकार प्राप्त अन्य अधिकारी भन्ने थाहा पाएपछि वा थाहा हुने मनासिब आधार हुँदा हुँदै आपराधिक बल प्रयोग गरेमा वा गर्ने उद्योग गरेमा,
(ख) सशस्त्र विद्रोहको षड्यन्त्र वा उद्योग गरेको थाहा पाएर पनि आफूभन्दा माथिको दर्जाको वा उच्च पदाधिकारीलाई यथाशक्य चाँडो खबर वा सूचना नदिएमा,
(ग) नेपाल सरकार वा नेपाल सरकारको काम कारबाहीप्रति खलल पर्न सक्ने गरी घृणा, द्वेष वा अवहेलना हुने गरी लेखेर वा वचन वा आकार र चिन्हद्वारा कुनै काम कुरा गरे
गराएमा,
(घ) आफ्नो जिम्मामा रहेको थुनुवा कैदीलाई जानी जानी भाग्न दिएमा वा भगाएमा ।
(४) देहायका अपराध गर्ने सशस्त्र प्रहरीलाई तीन वर्षदेखि पाँचवर्षसम्म कैदको सजाय हुनेछ :—
(क) आफूभन्दा माथिको दर्जाको सशस्त्र प्रहरीले दिएको आदेश पालन नगरेमा,
(ख) आफ्नो जिम्मामा वा कमानमा रहेका व्यक्तिहरूको संख्या वा अवस्था वा नगदी वा जिन्सीको जानी जानी झूठो विवरण पेश गरेमा,
(ग) कुनै राजनैतिक संगठन वा दलको सदस्यता ग्रहण गरेमा वा राजनीतिक उद्देश्यले आयोजित जुलुस वा प्रदर्शनमा भाग लिएमा,
(घ) आफ्नो जिम्मामा रहेका हातहतियार, खरखजाना वा सवारी साधन वा नगदी वा जिन्सी सामानको दुरुपयोग गरेमा,लापरवाहीपूर्वक हराएमा, बिगारेमा वा भत्काएमा,
(ङ) आफ्नो जिम्माको सरकारी सम्पत्ति वा सरसामान लिई भागेमा,
(च) अर्काको सम्पत्ति वा सामान जबर्जस्ती गरी लिएमा,
(छ) मुलुकको धार्मिक र सामाजिक सद्भाव खलबल्याउन सहयोग पुयाएमा,
(ज) सशस्त्र प्रहरी बल, नेपालको सेवाबाट भागेमा,
(झ) आफूलाई नियुक्त गर्न अख्तियार पाएका अधिकारीको इजाजत बिना राजीनामा गरेमा वा आफ्नो पदको कर्तब्य पालन गर्न छाडेमा ।